नाइट’ बस हाँकेर तीस बालबालिका हुर्काइरहेकी साहसी गुरु रेबिका

यो क्षेत्र र पेशालाई छिः भन्नेहरु पनि छन्,त्यही हिलो हिलोबीच फुलेको सुन्दर कमलको फुल हुन उनी । भनिन्छ,मान्छेहरु कतै नबिके पछि ड्राइभिङ्ग फिल्डमा आउँछन्,यो क्षेत्रमा अहिले हजारौंले रोजगारी पाएका छन् तर त्यो भीडमा आफूलाई अब्बल रुपमा चिनाएकी छिन्,रेविका थापाले । रेविका यो क्षेत्रको यस्तो अनुकरणीय महिला हुन,जो विगत केही समयदेखि लामो दुरीमा रात्री बस चलाइरहेकी छिन् ।

यो क्षेत्रमा लामो दुरीको बस चलाउने एक्ली महिला हुन उनी । त्यही कारण अद्धितीय छिन्,उनी । कहिले काठमाडौंमै साझा बस हुँइक्याएर रेकर्ड राखेकी उनी इसिमोडको सवारी चालक हुँदै अहिले काठमाडौंदेखि धनगढीसम्म चल्ने ५६ सिटे गाडी चलाएर आफूलाई अब्बल नारीको रुपमा स्थापित गर्दैछिन् । पीडै पीडाले थिच्चिएर,दुखै दुखको अनिगिन्ती पहाडहरु छिचोलेर यहाँसम्म पुगेकी हुन उनी । जस्तो सुकै कठिन परिस्थितिमा पनि उनले आफ्नो मनलाई हार्न दिइनन्,निरन्तर कर्ममा बगिरहिन,नदीझैं । भन्छन,जीवनमा सबैथोक खानु,तर हरेश नखानु ।

त्यही आत्मबल,आत्मविश्वासका कारण ड्राइभिङ्ग क्षेत्रको ‘एक्लो बृहस्पति’ बनेर आफ्नो नाम चम्काइरहेकी छिन् । धेरैले उनको सफलता देखेका छन् । उनले चलाएको ग्रेटर नेपालको लू २ ख ६९३९ नम्बरको बस याद गरेका होलान तर यहाँसम्म पुग्न उनले थिचोलेका अत्यासलाग्दा पीडा कमैलाई मात्र थाहा हुनुपर्दछ । बाल्यकाल बागलुङको गलकोटमा निकै कठोर र संघर्षबाट गुज्रिरहेको थियो । ०४० सालमा परिवार बुटवल झर्दा जम्मा १० वर्षकी मात्र थिए । बुबाकी कान्छी श्रीमतीको एक्ली छोरी, जसो तसो पढें चार कक्षासम्म । कस्तो थियो थाहा छैन, जन्म दिने बाबुको अनुहार । बाल्यकालमै गुमिन आमा । सानैदेखि सिर्जनात्मक काममा रुचि थियो । १४ वर्षकी हुँदा बुवा–आमाले सांसर छाडेर गइन् ।

बुवा‑आमा विनाको एक्लो भए । यसपछि जीवनमा झनै अफ्ठ्यारो परिस्थिति आइलाग्यो । मामाघरमा हजुरबाका दुईवटी श्रीमती । आमाका कोही दाजुभाइ थिएनन । अर्की आमातिरकाले गर्ने हेलाहोचो,कहिले आधा पेट,कहिले खानै नपाउने परिस्थितीसँग जुधेर आएकी हुँ यहाँसम्म । पारिवारबाट केही ‘सपोर्ट’ नभएपछि कष्टकर दिन झेल्दै काठमाडौं छिरें । तर,यो विरानो शहरमा न समाउने हाँगो थियो,न टेक्ने ठाउँ । काठमाडौं छिरेपछि झनै अन्यौलमा परें ।

एक मुठी सास अडाउनका लागि के मात्र गरिएन,मकै पोलियो,साग बेचियो,वालुवा चालियो तर जिन्दगी उस्ताको उस्तै । त्यसपछि विवाह बन्धनमा बाधिए । सबै नारीले चाहन्छन्,विवाहपछि जीवन सुखमय होस,बुझ्ने श्रीमान परुन । तर,भावीको लेखान्त होला सायद । लामो समयसम्म टिकेन सम्बन्ध । अत्याचार र दुव्र्यवहार सहनै सकिएन । श्रीमान छाड्ने स्थितीमा पुगे । कसैले डिर्भोस हुन्छ भन्ने सोचेर विवाह गरेको हुँदैन । सम्बन्ध विच्छेद अन्तिम स्टेज हो । आज पनि धेरै महिला दिदी बहिनीहरु डिभोर्स पछि मेरो जिन्दगी सकियो भन्ने सोच्नुहुन्छ तर पहिलो सम्बन्ध विच्छेद पछि मेरो जीवनमा नयाँ पालुवा पलायो । अर्थात डिभोर्स पछि मेरो नयाँ जीवन शुरु भयो ।

बुवा‑आमा थिएनन्,आफन्त पनि छैनन् । एउटा श्रीमान थिए,ती पछि छाडेपछि आफ्नै संघर्षले बाँच्ने निर्णय गरें तर त्यसबेला काखमा दूधे वालक थियो । स्रोत साधनले रित्तो थिए । काठमाडौंमा ओत दिने कोही थिएन । तै पनि जीजीविषा थियो । यस्तैमा यो अपरिचित शहरमा एक जना अपरिचित दिदी भगवान बनेर आइन जीवनमा । ती महिलासँग दोस्ती गाँसे र उनैको साथमा बस्न थालें । तिनै दिदीले टेम्पो चलाउन सिक भनिन । सिकें । त्यो बेला टेम्पो लगनखेल बाट नख्खु दोबाटो हँुदै रत्नपार्क जान्थ्यो । एक पटक पुगेर आउदा एक घन्टा लाग्थ्यो । सानो बालकलाई कोठामा थुनेर जान्थे । कोठामा छोरालाई छोडेर राती नै हिंड्थे म, एक राउण्ड टेम्पो घुमाएर बसपार्क आएपछि गाडी लाइनमा राखेर दगुर्दै छोरो हेर्न जान्थँे । भित्र पसेर केहीबेर छोरालाई सुम्सुम्याउथेँ, छातीमा टास्थेँ ।

नबिउझिने गरी बिस्तारै गालामा म्वाई खान्थेँ छेवैमा खानेकुरा राखिदिएर फेरि टेम्पो चलाउन निस्कन्थें ।यही रितले दुई बर्ष राजधानीमा टेम्पो चलाए । तर आजभन्दा दुई दशक अघि टेम्पो चालक महिलाहरु माथि अनेकन छेडखानी हुन्थ्यो । असुरक्षित महसुस गरें र छोडिदिए । पछि तिनै दिदीले कार कार चलाउन सिक्न सल्लाह दिइन् । तीन सातामै कार चलाउन सिकें । छोरो ठूलो हुदै थियो । छोराका लागि पनि धेरै कुरा गर्नुपर्ने जिम्मेवारी थियो काँधमा । हातमा लाइसेन्स त थियो तर त्यो बेला केटी मान्छेलाई गाडी चलाउन हत्तपत्त कसैले बिश्वास गर्दैनथें । केही समय छोटो दूरीमा माइक्रोबस चलाए । माइक्रोबस चलाएपछि त्यसबाट आएको हिम्मतले बाघभैरव टाभल्सको सानो गाडी नौ महिना चलाइयो । पछि मिनिबसको लाइसेन्स निकालें । पहिलो दिन नै मिनिबस लिएर मनकामना पुगें । यसरी ट्याम्पोबाट शुरु भएको ड्राइभिङ्ग माइक्रो, हायस,ठूलो गाडी हुँदै अहिले लङ्ग रुटको गाडीसम्म पुगेको छ । ०७० सालमा साझा यातायात सेवा सुचारु हुने खबर पाएपछि साझा चलाउने हुटहुटीले हेबी गाडीको लाइसेन्सका लागि निवेदन दिएकी थिए । हेबी गाडीको ट्रायल दिन जाँदा मसँगै गएका थुप्रै पुरुष साथीहरू फेल भए । तर, म पास भए ।

लाइसेन्स हातमा परेपछि साझासँग सम्पर्क गरिन् । तर साझामा गाडी चलाउन लाइसेन्स निकालेको पाँच वर्ष हुनुपर्ने प्रावधान रहेछ । मैले आफ्नो कुरा राखेर फर्किएकी थिए । धेरै समयसम्म फोन नआएपछि लाइसेन्सकै कारण होला भनेर आश मारेकी थिए । तर, एकदिन उनलाई साझाबाट फोन आयो । गाडीको ट्रायल र रुट टेस्ट गर्न लगाइयो । दुवैमा पास भइयो । मेरो आत्मविश्वास देखेर अध्यक्ष कणकमणि दीक्षितले साझाको साँचो हातमा थमाइदिए । त्यो मेरो जीवनको खुसीको क्षण थियो । चालक र सह–चालक महिलालाई प्राथमिकता दिएर भित्रिएका साझा बसले एउटा अवसर दियो । तर, क्षमता भए पनि महिला भनेर सर्त राख्यो । साझाले सर्पोट त ग¥यो, तर, मलाई कलंकीदेखि माइतीघरसम्म गाडी चलाउन भनेर ‘रुट टेस्ट’ गरेपछि मात्र चाबी थमाइएको थियो । मैले राम्रोसँग गाडी चलाएपछि मात्र उनीहरूले बल्ल विश्वास गरे । त्यो बेला ठूलो गाडीको ड्राइभर सिट र स्टेरिङमा बस्दाको मजा नै बेग्लै लागेको थियो थियो । त्यो समयमा महिलाले ठूलो गाडी हाँकेको देखेर होला स्कूलका बिधार्थीहरु गाडीबाट टाउको निकाली निकाली हेर्दै वाहुँ आन्टी वेलडन भन्न थाले । साझा बस हाँक्दा घरबाट निस्केर नफर्किंदासम्म सबैको वाहा वाहा मात्र सुन्न पाइन्थ्यो । जीवनका साढे चार दशकमा,२१ बर्ष यही क्षेत्रमा बिताइयो । साझापछि ‘ट्राभल एजेन्सी’का गाडी पनि चलाइयो ।

इसिमोडको ठूलो गाडी चलाए । जीवन आफ्नै लयमा दौडिरहेको थियो । पूराना घाउहरु खत लाग्दै थिए । फेरि जीवनमा अर्काे घाउ थपियो । यति दुःख गरेर हुर्काएका छोरा विवेक विस्तारै ठूला हुँदै थियो । १२ कक्षा पास गरेका उनी इन्जिनियरिङ्ग पढ्ने तयारीमा थिए । अब चाहिँ छोराले केही गर्छ भन्ने लाग्दै थियो । तर जीवन नसोचेको ययार्थ न रहेछ । सोचेको हुँदैन,पुग्दैन । नसोचेको भोग्दैपर्दछ । जीवनको एक मात्र साहरा १७ वर्षका उनका छोरा विवेक गुमाउनुप¥र्यो । मेरो सपना पूरा गर्ने बेला आफ्नै हातले बिदा गर्नुपर्ने भयो । यो घटनाले झनै विक्षिप्त भए । छोराको यादलाई भुलाउनका लागि ७७ सालमा शुरु गरे,विवेक स्वच्छ सेवा केन्द्र ।

यही केन्द्रमा अहिले ३० जना बालबालिका छन् । ती सबैकी आमा हुँ । पहिलो घरबार भत्कियो । छोरा १७ बर्षकै उमेरमा गुमाए । विक्षिप्त थिए,सम्हाल्न कोही आइपुगें । अहिले श्रीमानको साथ सर्पोट पाइरहेको छु । ६ बर्षको बच्चाको आमा हुँ । श्रीमान भन्नुहुन्छ,लामो दुरीको गाडी नचलाउ,सकेसम्म यो कामै छोड तर संस्थालाई अगाडि बढाउनका लागि नै भए पनि गाडी चलाउनुपर्ने स्थिती छ । किनकी मेरो काँधमा ती ३० अवोध बालबालिकाको जिम्मेवारी छ । बुवा–आमा पत्ता नलागेर टुहुरा भएका बालबालिकाले आश्रय पाइरहेका छन् । पुरुष चालकको भीडमा साहस, हिम्मत र आँटले ‘नाइट’ बस हाँकेर हिड्न थालेको छु । मलाई आफ्नो पेशामा गर्व छ । भन्नेहरुले जे सुकै भनुन,तर मलाई लाग्छ म यही हिलोमा फुलेको कमलको फुल हुँ । एक मुठी सास रहेसम्म सामाजिक काम गरेर अगाडि बढ्ने मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights