साच्चै! तपाइले अचानक एक ट्रक पैसा भेट्नुभयो भने के गर्नुहुन्छ ?

अचानक एक ट्रक पैसा भेट्नुभयो भने के गर्नुहुन्छ ? सम्भवत: एकक्षण मस्तिष्कले काम गर्ने छैन । यत्तिका पैसा के गर्ने ? कुनै मेलो पाउनुहुनेछैन । भावशून्य हुनुहुनेछ । जब तपाईं हतार–हतार सो पैसा उठाएर भएभरको झोलामा कोच्न थाल्नुहुन्छ, कसैले हठात तपाईंको कठालो समाउँछ । निद्रा भंग हुन्छ । ब्युँझिनुहुन्छ । पैसा फेला परेकै बखत निद्राबाट उठ्नुपर्दा कस्तो हुन्छ ? तपाईंलाई खुसी लाग्नेछैन । विस्मात् हुनेछ । अनि आफैंसँग भन्नुहुनेछ, ‘धत्, कस्तो ब्युँझिएछु ।’ तपाईंलाई के लाग्छ भने त्यस क्षण नब्युँझिएको भए पनि हुन्थ्यो । सपनामा सही, अथाह पैसा छाड्नुपर्दा कताकता दुःख लाग्नेछ ।

पैसा खासमा त केही होइन । कागज न हो । एउटा अवोध बच्चालाई वा कुनै वैरागीलाई त्यसको कुनै पर्वाह हुनेछैन । अघिल्तिर जतिसुकै पैसा थुपार्नुहोस्, त्यसले उनीहरुलाई कुनै खुसी, उमंग दिनेछैन । तर आम मान्छे शान्त र स्थिर हुनेछैन, जब उनको सामुन्न पैसाको थुप्रो लगाइनेछ । पैसाले उनीहरुलाई अनौठो ढंगले सम्मोहित गर्नेछ । आखिर पैसामा त्यस्तो के छ ? किन पैसा देख्दा मान्छेको मन फुरुंग हुन्छ ? यो मान्छेको मनोविज्ञानसँग जोडिएको प्रश्न हो । पैसाप्रति मान्छे यसकारण आकर्षित छन् कि त्यसले उसका आवश्यक्ताहरु पूरा गर्ने सामर्थ्य राख्छ । हो, पैसामा शक्ति हुन्छ, क्रयशक्ति ।

त्यही शक्तिको आडमा पैसाले दुनियाँलाई आफूतिर आकर्षित गरेको छ । त्यसैले त भन्ने गरिन्छ, ‘पैसा देखेपछि त शिवजीको पनि तीन नेत्र खुल्छ ।’ ‘पैसाको मुखै कालो ।’ ‘छ पैसा छनछनी, छैन पैसा हनहनी ।’ ‘पैसाकै लागि आफ्नो बिरानो ।’ जब मान्छेले पैसा चिन्न थाल्छ, त्यसप्रति उसको लगाव बढ्दै जान्छ । अनि पैसा कमाउने मोलोमेसो खोज्न थाल्छ । पढ्छ, जागिर खान्छ, उद्यम व्यवसाय गर्छ, अनेक गर्छ । पैसा कमाउँछ । तर कति पैसा भएपछि मान्छेलाई पुग्छ ? यो अन्त्यहीन प्रश्न हो । मान्छेलाई पैसाले पुग्दैन । जति कमाए पनि । जीवनलाई सुविस्तासँग बिताउनका लागि मान्छेले पैसाको जोहो गर्छ । पैसा भएपछि मान्छेले दाल–चामल किन्न सक्छ । लुगाफाटो किन्न सक्छ । घर बनाउन सक्छ । गाडी जोड्न सक्छ । सन्तानलाई पढाउन सक्छ । औषधि उपचार गर्न सक्छ । खुलेर चाडपर्व मनाउन सक्छ । विन्दास घुमफिर गर्न सक्छ । मनोरञ्जन गर्न सक्छन् । अरु धेरै धेरै कुरा गर्न सक्छन् । कतिसम्म गर्न सक्छ भने अरुको समय, श्रम, उमेर आफ्नो हितमा प्रयोग गर्न सक्छन् । साच्चै ,तपाइले अचानक एक ट्रक पैसा भेट्नुभयो भने के गर्नुहुन्छ ? भन्नुहोस त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights