जाजरकोट भूकम्प: अब त रुने दिन सकिए होलान् भनेको उल्टै छोरी र नातिनीले पनि एक्लै छाडेर गए

जाजरकोट । एउटै जीवनभित्र कतिवटा पीडा झेलेर बाँचुन् बिरी राना (६६) ले ! भेरीको डिलमा बसेर जाजरकोट भेरी नगरपालिका १ की बिरी रिम्नाको डाँडागाउँतिर हेर्छिन् । अनि आफ्ना सन्तानहरुको वियोगहरुलाई सम्झन्छिन् । यो भेरी, जहाँ द्वन्द्वमा १७ वर्षे छोरा अर्जुन स्कुल ड्रेसमै मारिँदा उनका आँसु बगेथे । त्यस्तै आँसु शुक्रबार रातिको भूकम्पमा छोरी टुल्की र नातिनी कृष्णा गुमाउँदा बग्न पुगे ।

अब त उनकै आँसु मिसिएर भेरी बगिरहेजस्तो लाग्छ । बिरीले हामीतिर रसाएका आँखाले हेर्दै भनिन्, ‘नियति यस्तै रहेछ, के गर्ने ?’बिरीको गाउँमा तीन दशकअघि माओवादीहरु जनवादी क्रान्ति गर्न पसेका थिए । बलिदानले सुख ल्याउँछ भन्ने सपना बाँडेका थिए । रुकुम, रोल्पासँगै जाजरकोट पनि उद्वेलित भइरहेको थियो ।

माओवादीसँगै सपना मात्रै आएन, प्रहरी पनि आए । माओवादीलाई सघाएको नाममा दिनरात प्रहरी प्रशासनले कतिपय गाउँलेलाई केरकार गर्न थालेको थियो । ‘माओवादीलाई बास दिएको, खान दिएको भनेर हरेक दिन जसो प्रहरी आएर धम्याउने, पिट्थे’ उनी भन्छिन्, ‘जबकि हामीले केही गरेका हुँदैनथ्यौं ।’

२०५२ सालमा माओवादीलाई खाना खुवायो भनेर प्रहरीले उनलाई सात दिन हिरासतमा राखे । ‘खाना पनि नदिने, ओढ्ने पनि नाइ, हिरासतमा मलाई यातना दिएर राखे, उनले भनिन्, ‘त्यो बेला म गर्भवती थिएँ । हिरासतमा पाएको यातनाले गर्भ पनि तुहियो ।’

प्रहरी हिरासतमा पाएको यातनाले अहिले पनि उनको शरीर सद्दे छैन । जीउभरि घाउ छन्, जो अहिले पनि बल्झिरहन्छन् । १७ वर्षे अर्जुन राना उनका एक्लो छोरा थिए । अर्जुन जाजरकोट खलंगा बस्ने आफन्तकहाँ रहेर कक्षा नौ पढ्थे । ०५५ मंसिरमा स्कुल विदामा उनी घर आएका थिए । ‘मंसिर ४ गते राति गस्तीमा आएका प्रहरीले घरबाटै छोरालाई लिएर गए’ उनले भनिन्, ‘जेलमा त राखेको होला भनेर अर्को दिन खाना लगेर गएँ, तर भेट्न दिएनन् ।’

प्रहरीले लगेको ११ दिनपछि उनको छोरा माछा पार्ने नालोमा मृत फेला परे । ‘मेरो छोरालाई माओवादी भन्दै मारेर फाले’ बिरीले पुराना व्यथा सुनाइन्, ‘ऊ स्कुलकै ड्रेसमा थियो रे, मैले त लास पनि देख्न पाइनँ ।’ त्यति बेला राज्यपक्षका सुरक्षाकर्मीको जगजगी कति थियो भने उनीहरु शव पनि जलाउन दिंदैनथे । ‘शव देखेको भए प्रहरीले फेरि सताउन आउँथे’ उनले भनिन्, ‘डराई डराई आफन्तले शव गाडेर फर्किए । छोरालाई अन्तिम दाहसंस्कार गर्न पनि पाएनन् ।’

राज्य पक्षका सुरक्षाकर्मीले यति सताउँथे कि घरमा शान्तिपूर्वक कोही बस्ने अवस्था रहेन । ‘छोरा मारेपछि पनि पुलिसले कुट्न, पिट्न छोडेनन्’ उनले भनिन्, ‘छोरालाई गाडेको खाल्डोमा तँलाई गाड्छु भन्दै हात खुट्टा सुन्निने गरी कुटे । अहिले मलाई प्रहरी देख्यो भने पुरानो दुःखको यादले तनाव हुन्छ ।’ बिरी द्वन्द्वकालभरि चैनले बस्न पाइनन् । युद्ध सकिंदा पनि उनीभित्र शान्ति आइसकेको थिएन । छोरा अर्जुन मारिएको धेरैपछिसम्म पनि उनी भक्कानिन छोडिनन् ।

‘छोरा गुमाएपछि मेरो जिन्दगी उस्तै रहेन’ उनले भनिन्, ‘म रुँदै रुँदै भेरीको तीरैतीरै हिंडिरहें ।’ आफ्नो जीवनमा बिरीले भोगेको यो अन्तिम वियोग थिएन । २०६३ सालमा शान्तिकाल आएपछि बिरीले चित्त बुझाउन थालेकी थिइन्, छोरा जेजसो भएर बिते पनि छोरी छे । तर शुक्रवार १७ कात्तिकमा आएको शक्तिशाली भूकम्पले उनको जीवनलाई अनन्त दुःखमा धकेल्यो । जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको ६.४ रेक्टरको भूकम्पले बिरी बस्ने घर बाँकी रहेन । शुक्रवार राति सुतेकाे बेला छोरी टुल्की र नातिनीमाथि घर नै खस्न पुग्यो ।

द्वन्द्वका त्रासद दिनहरुमा जेनतेन जोगिएकी छोरी टुल्की बुढालाई भूकम्पले लग्यो । साथमा उनकी २० वर्षकी नातिनी कृष्णा पनि परिन् । ‘छोरा मारिएको पीडा त सहेकै थिएँ, अब त छोरी र नातिनी पनि गुमाएँ,’ बिरीले रुँदै भनिन्, ‘यतिका दुःख झेलेर यहाँसम्म आएकी थिएँ, अब त रुने दिन सकिए होलान् भनेको, उल्टै छोरी नातिनी पनि मलाई एक्लै छाडेर गए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights