परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् ।

शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ ।’

छोराछोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनी वैदेशिक रोजगारीका लागि गएका थिए । तर, शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए । त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृ’त्यु भएको थियो ।

उदय नआउञ्जेल छरछिमेक र आफन्तले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै छाडेका थिए । उनी सोमबार आउने भएसँगै शव बुझेर ल्याएको छिमेकी ३८ वर्षीय सज्जनराज विकले बताए । उनले भने, ‘उहाँ नआएसम्म जिम्मा लिने कुरै भएन, सोमबार आइपुग्ने भनेपछि घरमा शव ल्याएका थियौं ।’

सोमबार अपराह्न झण्डै १ बजेतिर उनी घरभन्दा तलतिर रहेको सडकसम्म आइपुगेका थिए । एउटा सुटकेश बोकेर आएका उनी उकालो चढ्न थालेपछि छिमेकीहरु आएर सामान बोकिदिए । पहिले-पहिले घरमा पुग्दा बुबा आउने वित्तिकै झोला हेर्ने बच्चाहरुको शव यसपटक लस्करै राखिएका थिए । श्रीमतीसहित ६ जनाको शव देख्दा उनी थामिन सकेनन् ।

दाहसंस्कारका लागि घाटसम्म बोकेर लैजानका लागि कोही बाँसका घारा बनाइरहेका थिए, कोही दाउरा संकलन गरिरहेका थिए । नजिक पुगेपछि उदय पुर्पुरोमा हात राखेर थचक्क बसे । केही बोल्न सकेनन् । ‘दैव पनि कस्तो, कोही बचेनन्’, उदयसँगै टुक्रुक्क बसेकी छिमेकी ४० वर्षीया लक्ष्मी सुनुवारले भनिन्, ‘गाउँमा कोही नबितेका घरै रहेनन् ।’

छिमेकी सज्जनराज विकका अनुसार, उदयले उज्ज्वल र अञ्जलीलाई बोर्डिङ स्कुल भर्ना गराएका थिए । ‘उज्ज्वल नर्सरीमा पढ्थ्यो, अञ्जली एलकेजीमा पढ्दै थिइन्’, उनले सुनाए, ‘शर्मिला चाहिँ अपाङ्ग थिइन्, उनलाई यहीँको सरकारी विद्यालय भर्ना गराइएको थियो ।’ उनको घरमा ६ जनाको मृत्यु भएपछि ५ जनाको मात्र अन्त्येष्टिको तयारी हुँदै थियो । भाञ्जी ८ वर्षीया विष्णु तिरुवाकी आमा रोजगारीका लागि कवेत गएकी थिइन् । उनलाई आउन समय लाग्ने भएकाले विष्णुको शव भने अस्पतालबाट घर ल्याइएको छैन । ‘पोष्टमार्टम त भइसकेको थियो, तर आमा आउञ्जेल राख्ने भन्ने भएपछि अस्पतालमै छ’, विकले भने, ‘बुबा पनि मजदुरी गर्न भारत गएका थिए, अहिले आइसकेका छन् ।’

आमाले गाउँमा आइपरेको विपद्बारे जानकारी दिँदै कम्पनीमा विदा मागिसकेको सुनाउँदै उनले भने, ‘उहाँ पनि चाँडै आउनुहुन्छ होला, अनि अन्त्येष्टि हुन्छ ।’ मृतक निरुता विकका बुबा, जानुकाका देवर भने संयोगले शुक्रबार घरमा थिएनन् । आफन्त करिब ६० वर्षका तेजाब कामीको कालगतीले मृत्यु भएपछि अन्त्येष्टिका लागि उनी गएका थिए । त्यसपछि शुक्रबार उनी तेजाबकै घरमा बसेका थिए । ‘मलामी गएर उहाँकै घरमा सहयोगका लागि भनेर बस्नुभयो, तर आफ्नो घरमा यस्तो भयो’, सोमबार दिउँसो भेटिएका सज्जनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट