विज्ञको कडा चेतावनी: नेपालमा आँउदै छ महाभूकम्प

शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालमा वर्षौँयता कायम भूकम्पीय जोखिमप्रति पुन: मानिसहरूको ध्यान तानेको विज्ञहरूले बताएका छन्। पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसयता शनिवार बिहानसम्म ४ म्याग्निट्यूडका कम्तीमा तीनवटा र त्यो भन्दा साना ३५ वटाभन्दा बढी परकम्पहरू रिकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हालैका महिनामा पश्चिम नेपालका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन्। विज्ञहरूले पाँच सय वर्षअघि महाभूकम्प गएको उक्त क्षेत्रमा आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको शक्तिशाली भूकम्पको जोखिम रहेको बताउँदै आएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीका अनुसार तथ्याङ्कहरू हेर्दा पनि पछिल्लो समयमा पश्चिम नेपालमा बढी भूकम्पहरू गइरहेको छ।

उनले दैनिक रूपमा साना र बेलाबेला मझौला किसिमका भूकम्प गइरहेका घटनाले उक्त क्षेत्रमा भूकम्पीय रूपमा जोखिम रहेको देखाएको बताए।उनले भने, “त्यहाँ भूकम्पीय शक्ति सञ्चित भएको हो। जति पनि साना र मझौला भूकम्प गइरहेका छन् त्यसले यो ठाउँमा ठूलो भूकम्प जाने शक्ति छ। भूकम्पीय जोखिममा हामी छौँ भन्ने यसले सङ्केत गर्छ।”

पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष दुई सेन्टिमिटरको दरले उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमालय क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरू बताउँछन्। त्यसकारण नेपालमा भूकम्पको जोखिम रहेको भन्दै अधिकारीले भने, “जति धेरै समय, त्यति धेरै शक्ति सञ्चय हुने भयो। जति धेरै समयसम्म शक्ति बाहिर निस्किएन वा भूकम्प गएन ठूलो भूकम्प जाने सम्भावना भयो।”

अधिकारीहरूका अनुसार नेपालमा २ म्याग्निट्यूडभन्दा बढीका झन्डै १० वटा भूकम्प दैनिक रूपमा जाने गरेका छन्। सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो जसमा नौ हजारभन्दा बढीको ज्यान गएको थियो।

अघिल्लो महिना बझाङमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते भएका थिए। अहिलेसम्मको अध्ययनले गोरखा भन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिम रहेको अधिकारीजस्ता विज्ञहरू बताउँछन्।

उनले भने, “प्लेटहरू सर्ने कारणले जुन दुई सेन्टिमिटरका दरले नेपालभित्र प्रतिवर्ष सञ्चित हुने शक्ति हो, त्यो ५०० वर्ष यता भूकम्प नगएका कारणले जम्मा भएर बसेको छ। त्यसमा आठ म्याग्निट्यूड वा त्योभन्दा बढीको भूकम्प निम्त्याउन सक्ने शक्ति छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights