जाजरकोट । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भुइँचालोबाट सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, सदरमुकाम खलङ्गा । सदरमुकाम भेरी नगरपालिकामा पर्दछ ।
भूकम्पले जाजरकोटका सबै क्षेत्र र रुकुम पश्चिमको पश्चिमी क्षेत्रको आठबीसकोट नगरपालिका र सानीभेरीमा क्षति पुर्याएको छ । जाजरकोट जिल्ला अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार जाजरकोटमा मात्र हालसम्म १०५ जनाको मृत्यु भएको छ । तीमध्ये ४२ जनाको जिल्ला अस्पतालमा मृत घोषित गरिएको छ ।
मृत्यु हुनेहरूमा जिल्लाका कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका रहेका छन् । जुनीचाँदे गाउँपालिकाका मृतकको सनाखत भने नभएको उनको भनाइ छ । अस्पतालमा मृत्यु भएका ४२ जनामध्ये ४१ शवको पोस्टमार्टम भइसकेको छ। ३४ वटा शव आफन्तले बुझिसकेका उनले बताए ।
उद्धार गरी जाजरकोट ल्याइएका घाइतेमध्ये २५ जनालाई बाहिर रिफर गरिएको खत्रीले जानकारी दिए । तीमध्ये २४ जनालाई सुर्खेत पठाइएको छ भने एक जनालाई नेपालगञ्ज पठाइएको छ । शनिबार बेलुका ६ बजे जिल्ला अस्पतालमा पुग्दा स्थिति सामान्य थियो । डाक्टरहरू फुर्सदमा देखिन्थे ।
शुक्रबार मध्यान्नको भूकम्पले जाजरकोट त्यसैमा पनि सदरमुकाम खलङ्गा त्रसित छ । स्थलगत अवस्था बुझ्न सुर्खेतबाट जाजरकोट सडकतर्फ लाग्दै गर्दा सवारी आवतजावतको अवस्था निकै बाक्लो थियो । एम्बुलेन्सहरूले निरन्तर ओहोरदोहोर गरिरहेका थिए । दिउँसो ३ः५० मिनेटमा सुर्खेत छाडेर जाजरकोट सीमामा लग्यौँ ।
केही अगाडि पुग्दा नदीमा एउटा शव जलाइँदै थियो । उक्त शव भेरी नगरपालिका–१३, कार्की गाउँकी १७ वर्षीया एकता खड्काको रहेछ ।सडकमा महिलाहरु बसिरहेका थिए । उनीहरू रोइरहेका थिए । हामीले उनकी फुपु कस्तुरा बुढालाई घटनाबारे बुझ्ने प्रयास गर्यौँ । उनले एकता सदरमुकाम खलङ्गामा नै बसेर पढ्ने गरेको र शुक्रबार मध्यरातको भूकम्पका कारण घर भत्किएर मृत्यु भएको बताइन् । डेरा लगेर उनी, खलङ्गामा बस्थिन् । एकताका तीन भाइ बहिनी थिए, एकता माइली थिइन् । एसईई दिइसकेकी उनले सदरमुकामै बसेर केही तयारी गरिरहेकी थिइन् ।
कस्तुराले रुँदै भनिन्, ‘भूकम्प पनि अजिबको रहेछ, हाम्रो त कलिलो मुना चुँडेर लग्यो ।’ दुई घण्टा पछि अर्था पाँच बजेदेखि सदरमुकाम खलङ्गा पुग्दा मान्छेहरूको आवतजावत निकै बाक्लो थियो । सिधै जाजरकोट जिल्ला अस्पताल पुग्दा त्यहाँको अवस्था भने सामान्य नै थियो । किनकि घाइतेहरूको बाहिर रिफर भइसकेको र मृतकहरूको पनि लास बुझिसकेकाले खासै तनावग्रस्त अवस्था देखिएन ।, यद्यपि ठाउँ–ठाउँबाट सहयोगका लागि एम्बुलेन्स र मान्छेहरू अस्पताल बाहिर थिए । अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीले दिनभरको अवस्था ब्रिफिङ गरे ।
यद्यपि घाइतेहरू आउने क्रम भने जारी रहेको उनको भनाइ थियो । ६ बजेपछि रात पर्न थालिसक्यो । हामी बजारतर्फ लाग्यो। तर, बजार निकै त्रसित थियो । अधिकांश नागरिकहरू घरभित्र नभई बाहिर सडकमा थिए । कोही कुम्लो कुटुरो बोकेर सडक आसपासका रुखहरूमा उभिएका त कोही किनारामा पालहरू ओछ्याएर बसिरहेका । साना बालकदेखि वृद्ध महिलासम्म । भेरी नगरपालिका–३, अन्तर्गत तल्लो थप्ला बजार क्षेत्रका अधिकांश मानिसहरू सडक बाहिर नै भेटिए ।
पुनः भूकम्प आउने त्रासमा रहेका खलङ्गावासीहरू रातभर जाग्राम बस्ने निधो गरेर सडक बाहिर नै बसिरहेका छन् । स्थानीय जगत विकको घर पुरानो कच्ची थियो । भूकम्पले पूर्ण रूपमा क्षति गर्दा उनीहरू सडक किनारामा जाग्राम बसिरहेका छन् । ७ जनाको परिवार थियो जगतको । दुई तलाको चार कोठे घर । भूकम्पले पूर्ण क्षति गरिदियो । जगत भन्छन्,‘ घर भत्किँदा हामी भित्र थियौँ, १० मिनेटमा उद्धार भयो । भित्रबाट फोन गर्ने कति प्रयास गरेका थियौँ ।’
Discussion about this post