आज दशैको पहिलो दिन : घरघरमा जमरा राखिँदै, घटस्थापना शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा

समितिका अनुसार दशैंको घटस्थापना असोज २८ गते आइतबार बिहान ११ः२९ बजेको साइत रहेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने बताइएको छ । नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ ।

दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।

उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यति बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।

आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडाैं ल्याइ पुर्याउनु पर्ने मान्यता समेत रहेको छ ।

लमजुङको मोरियाकोटमा स्थानीयबासी हरूले राइनासकोटको तल्लो भेगलाई (धमलीकुवा र गरमवेशीका केही स्थानीय भेगहरू) परिक्रमा गर्दै तल रहेको दूध पोखरी खोला र मस्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो भई कुभिन्डो तथा अन्य मौसमी फलफूलहरू लगायत फूलपाती बोकेर राइनासकोटस्थित राष्ट्रिय विभूति सरदार वीर भक्ति थापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ ।

स्मरणीय रहोस्, उक्त मन्दिर कुनै पनि देशभक्त वीरको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरू भएको लमजुङ जिल्लाको पर्यटकीय स्थल हो, जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दसैँ लगायत शिवरात्रिमा पनि दर्शनार्थीहरूको विशेष भीड रहन्छ । यसबाहेक मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पीठहरू र काली माताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।

सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्त्वका रूपमा हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights