सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।
पितृ मोक्ष औँसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने लोक चलन छ ।
१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृ कर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिउ, पुष्प, अबिर–केसरी लगायतका पितृ कर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।
हिन्दु संस्कारमा श्राद्ध एकदमै महत्त्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्रले गर्छन् । तथापि सर्व पितृ औँसीका दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
नवरात्रि सुरु: अर्कोतर्फ अब सर्व पितृ औँसीको भोलिपल्टबाट नवरात्रि सुरु हुँदै छ । सँगै शक्ति पीठहरूमा प्रातकालदेखि नै श्रद्धालु भक्तजनहरूको घुइँचो र मेला लाग्ने गर्छ । दसैँको तैयारी र किनमेल, लगाउने नयाँ लुगा अनि खसी–बोकाको तैयारी अनि खोजी सुरु भइसकेको होला ।
कपडा सिलाउने ठाउँमा नयाँ कपडा सिलाउने अनि कपडाको नाप लिने भ्याई नभ्याई होला । अबका बजारमा खसी–बोकाको माग अनि किनबेच बढ्दो क्रममा हुनेछ । भोलि अर्थात् घटस्थापनामा जमरा राख्ने ठाउँ र नवरात्रिभरि पूजा गरिने पूजा स्थलको सरसफाइ पनि गरिने बेला आएको छ ।
दसैँको तैयारीको सुरुवातका क्रममा अब घर वरिपरि सरसफाइ गर्ने, घर बाहिर भएका परिवारका सदस्य अनि पढ्न बाहिर बसेका विद्यार्थीहरू उत्साहका साथ घर फर्किने तैयारी अनि गाडी या प्लेनको टिकटको खोजी कार्य पनि सुरु भइसकेको छ । यो उल्लासको समय हो । आशाको सञ्चार भएको समय हो । परिवारहरू भेला हुने समय हो । सँगै माया र सद्भाव बढोस् ।
Discussion about this post