हिन्दूधर्म अनुसार मन्दिरमा गएर भगवानसँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ।
जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो।
सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला । सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बज्यैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ। त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो। वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन्। सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताए।
सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताए। अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ। कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ। ‘पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो। पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ’, अध्यक्ष गाहाले भने।
सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको छ।
मेला हेर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने गरेको बताइन्छ।
सत्यवती तालको महत्व
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ। पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधैं चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन्। वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए।
Discussion about this post