नेपालगञ्ज । मधेशी, मुस्लिम र पहाडी बसोबास भएको शहर नेपालगञ्जमा केही सय मिटरको दूरीमा मन्दिर र मस्जिद भेटिन्छन् । सँगै बसेपछि गोडा लाग्छ, तर स्थानीय हिन्दु र मुस्लिम एक–अर्कोलाई माया र सम्मान दिएरै बसेका छन् ।
आपसी सद्भावमा रहेका नेपालगञ्जवासीहरूलाई भड्काउन चार दिनयता विभिन्न समूह सक्रिय हुन थालेका छन् । उनीहरूको उद्देश्य नेपालगञ्जबाट धार्मिक संवेदना भड्काउने, अन्यत्र पनि कचमच गराउने रहेको छ ।
तर यो निहित उद्देश्य समयमै चाल पाए स्थानीय हिन्दु–मुस्लिम अगुवाले । नेपालगञ्जबाट सल्काउन खोजिएको धार्मिक–साम्प्रदायिक आगोलाई निभाउन राज्यको सुरक्षा निकाय मात्रै होइन, स्वयं स्थानीय अगुवाहरूको तत्परता देखियो । हिन्दु र इस्लाम धर्मका अगुवाहरू चन्द्रनाथ योगी र मौलाना जब्बार मन्जरी सबैभन्दा अगाडि उभिए– एकसाथ ।
योगी बागेश्वरी मन्दिरका मूल महन्त हुन् । मौलाना मन्जरी मुस्लिम धर्मगुरु । महन्त र मौलानाकै अगुवाइमा मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली निकालियो ।
सद्भाव र्याली मार्फत महन्त र मौलानाले शान्ति र सद्भाव कायम गर्न नेपालगञ्जवासीलाई आग्रह गरेका छन् । दुवैले मानवताको गाथा गाए, आफ्नो मात्रै धर्म असल, अर्काको कमसल भनेनन् ।
हिन्दु महन्त चन्द्रनाथ योगीले भने, ‘सदियौंदेखि हामी हिन्दु, मुस्लिम केही नभनी मिलेरै बसेका छौं, मिलेरै बस्न चाहन्छौं । कसैले आफ्नो स्वार्थका लागि यहाँको जनतालाई भिडाउने कोसिस नगरोस् । हामी त्यस्तो हुन दिंदैनौं । सहिष्णुता र सद्भाव राख्छौं ।’
मुस्लिम धर्मगुरु मौलाना जब्बारले भने, ‘नेपालगञ्जका रैथाने हिन्दु र मुस्लिम हिजो पनि मिलेर बस्न चाहे, अहिले पनि चाहन्छन् । एकअर्का समुदायलाई आदर र सम्मान गर्छन् । दशैं र इद दुवै पर्वमा रमाउँछन् । एकआपसमा शुभकामना साटासाट गर्छन् । तर पछिल्ला दिनहरूमा नेपालगञ्जका मधेशी र मुस्लिम समुदायका बीचमा फाटो ल्याएर स्वार्थसिद्ध गर्ने समूह सक्रिय हुन थालेको छ ।’
जात र धर्मको नाममा राजनीति गर्ने र त्यसैलाई भोट बैंक बनाएर चुनाव जित्न खोज्ने प्रवृत्तिका कारण वर्षाैंदेखि एकआपसमा मिलेर बसेका समुदाय एकअर्का विरुद्ध आमनेसामने हुनुपर्ने अवस्था आएको हो ।
धर्मका हिसाबले हिन्दु र मुस्लिममा बाँडिएको भए पनि दुवै समुदायका मानिस आपसमा मिलेर बसोबास गर्दै आएका छन् । नेपालगञ्जमा आयोजना हुने मुख्य समारोह पर्व तथा महोत्सवहरूमा धर्मगुरुहरू सहभागी हुने गरेका छन् । नेपालगञ्जका धर्मगुरु र नागरिक समुदायका अगुवाहरू मिलेर नेपालगञ्जमा धार्मिक सद्भाव कायम गर्दै आएका छन् ।
२०६३ सालमा भएको मधेश आन्दोलनका क्रममा मधेशी र पहाडी र मुस्लिम समुदाय बीचको सामाजिक सद्भाव बिथोलिएर झडप तथा आगजनीका घटना हुन थालेपछि नेपालगञ्जमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन र शिख धर्मगुरुहरू एकजुट भएर धार्मिक सद्भाव समिति गठन भएको थियो ।
धर्मगुरुहरू नै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भएपछि नेपालगञ्जमा धर्मका नाममा समुदायहरूबीच हुने झडपका घटनाहरूमा कमि आएको छ । मन्दिर र मस्जिदमा गएर आ–आफ्ना आस्थाको भक्तिमा लागे पनि उनीहरूको आपसी मित्रताको कथा लामो छ ।
२०६३ सालमा तनाव फैलाउन खोजिंदा नेपालगञ्जका महन्त र मौलाना यसैगरी उभिएका थिए । उनीहरूले समुदायमा फाटो ल्याएर स्वार्थको रोटी सेक्ने समूहबारे सचेत हुन स्थानीय नागरिकलाई अपिल गरेका थिए ।
कतिसम्म भने बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी एउटै मोटरसाइकलमा चढेर नेपालगञ्ज लगायत बाँके जिल्लाका गाउँबस्तीमा पुग्ने गरेका छन् ।
Discussion about this post