को हुन् नेवार ?

काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरु जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर, अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

सरसरर्ती हेर्दा अरु जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो तामाङ, गुरुङ, मगर, लिम्बुहरू सबै नश्लमा आधारित जाति हुन् । तामाङहरू सबैको एउटै रगत छ, राईहरू सबैको एकै रगत छ र त्यस्तै अरू अरूको पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरू पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरू सबै आर्य रगतका हुन् । तर, नेवारहरूमा त्यस्तो छैन । कोही नेवारहरू आर्यन्, कोही नेवारहरू मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन् । संसारका तीनओटा नश्लहरू नेवारहरूमा छन् ।

हुन त ९० प्रतिशतभन्दा बढी तिब्बत्तो, बर्मन अथवा मङ्गोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती- बर्मी समूहका) हुन् तर अरू आगन्तुकहरू पनि नेवार बनेका छन् । नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन् ।

धर्मका हिसाबले पनि अहिले नेवारहरू शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई ‘देश छाडेर जानू, नजानेहरूलाई मार्नू’ भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे । नजानेहरू सबैलाई फाँसी दिइए र मारिए । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् । नेवार मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरूसँग मिसिन गए ।

यसरी नेवारहरूको रगत, धर्म अलग अलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै जाति छैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार देखिन्छ भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक Ethnic समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा Ethnic geo-linguistic community हो । जो नेपालभाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपालभाषा भनेको पुरानो किराँत भाषामा लिच्छविहरूले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो । नेपालभाषा बन्नुभन्दा पहिला त नेवारहरूको र तामाङहरूको एउटै भाषा थियो । तामाङहरूले पुरानै भाषा बोलिरहे । नेवारहरू भने नयाँ भाषा बोल्न थाले ।

नेवारको श्रमिक वर्ग, जस्तो- नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरू, ज्यापूहरू सबै तिब्बती बर्मन वा मङ्गोल मूलका छन् । नेवारहरूमा यिनीहरूको सङ्ख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरूमा श्रेष्ठहरू छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । सात सय वर्षसम्म मल्लहरूको राज्य चल्दा उनीहरूले सरकारका ठूलाठूला पदहरू अथवा भारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे । उनीहरू जुनजुन पदहरूमा नियुक्त भए, त्यही पदअनुसार उनीहरूको थर निर्धारण भयो । जस्तो मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो । उनीहरूका सन्तानहरूलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मङ्गोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।

एउटा उदाहरण लेऔँ । नेपालको इतिहासमा हरिसिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ । दिल्लीका शासक गयासुद्दिन तुगलकको आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए । तर, तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरबारमा शरण लिए । उनीहरूको थर राजपूत थियो । नेवारीमा ‘रा’ लाई ‘ला’ भनिन्छ । त्यसैले उनीहरूको थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरू श्रेष्ठमा मिल्न गए ।

मल्ल राजा भूपतीन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरी वैद्यहरू आएका थिए । उनीहरू दरबारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो । तिनीहरूसँगै आएका वैद्यहरू जो राजदरबार पुगेनन् ती श्रेष्ठ नभई अरू जातमा विलीन भए । बाहुनहरूमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरू ६-७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरूले नेवारी बोले, उनीहरूलाई राजोपाध्याय भनिन्छ वा नेवार बाहुन पनि भनिन्छ । त्यस्तै, तराईबाट पनि तिरहुते (झा, ओझा, मिश्र थरका) बाहुनहरू पनि यहाँ आएर नेपालभाषा बोलेर नेवार बाहुन बने । यसरी ८- ९ सय वर्षपहिले आएर काठमाण्डौँ उपत्यकामा बसेर नेपालभाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो । यसरी नेवारहरूको संरचनाको हिसाबले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट