भोलीदेखि साउने सोमबारको व्रत गरिँदै, झुक्किएर पनि नगर्नुस् यी गल्ति

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ ।सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।साउन शिवजीसँग जोडिएको महिना हो ।

साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।श्रावणको महिना हिन्दु धर्मालम्बीको लागि विशेष छ किनकी श्रावण महिनामा भगवान शिवको पूजा आराधनाको विशेष विधि छ ।

श्रावणको सोमबारे व्रतको सर्वाधिक महत्व बताइएको छ । श्रावण भोलेनाथको प्रिय महिना हो । यो महिनामा बेल पत्रले भगवान भोलेनाथको पूजा गर्नु र जल चढाउँदा अत्यन्तै फलदायी हुने विश्वास छ । यहि भएर विशेष गरेर सोमबार व्रत र श्रावण स्नान गर्ने परम्परा छ ।

शिव पुराणको अनुसार जो कुनै व्यक्ति यो महिनाको सोमबार व्रत गर्दछन भगवान शिवले उनको समस्त मनोकामना पूरा गर्दछन् । श्रावणको महिनामा लाखौँ श्रद्धालु ज्योर्तिलिङ्गको दर्शनको लागि नेपाल तथा भारतका धार्मिक स्थलहरुमा जाने गर्दछन् ।

श्रावणको महिना र प्रकृतिको गहिरो सम्बन्ध रहेको छ किनकी यो महिना वर्षा ऋतु पर्ने हुँदा धरतीमा झरीसँगै हराबरा हुने गर्दछ । ग्रीष्म ऋतु पश्चातको यो महिनामा पानी पर्दा मानव समुदायलाई धेरै राहत मिल्ने गर्दछ । यसको अलावा श्रावण महिनामा अन्य धेरै पर्वपनि मनाउने गरिन्छ ।

श्रावणको व्रत
श्रावणको यो पवित्र महिनामा भक्तहरुले तीन प्रकारका व्रत राख्ने गर्दछन् । १. श्रावण सोमबार व्रतः श्रावणको सोमबार बसिने व्रत नै सोमबारे व्रत हो । यो दिन भगवान शिवमा समर्पित हुनेछ । २. सोह्र सोमबार व्रतः श्रावण महिनामा सोह्र सोमबारको व्रत सुरु गर्नको लागि यो शुभ समय मानिन्छ । ३. प्रदोष व्रतः श्रावणमा भगवान शिव एवं माता पार्वतीको आशिर्वाद प्राप्त गर्नको लागि प्रदोष व्रत प्रदोष कालसम्म राखिन्छ ।

व्रत बस्दा के खाने, के नखाने ?
यो महिनाको सोमबार ब्रत बस्दा आलू ,दहि आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतको दिनमा फलफुल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी पिउनुपर्छ । पानी खादा कागती पानी खानु राम्रो हुन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन । त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

व्रत र पूजाको विधि
प्रातः सूर्योदयभन्दा अघि उठ्नुहोस र शौच गरेर स्नान गर्नुहोस् । पूजा स्थललाई सफा गरेर वेद स्थापित गर्नुहोस् । शिव मन्दिरमा गएर भगवान शिवलिङ्गमा दूध चढाउनुहोस् । फेरी पूरै श्राद्धसँग महादेवको व्रतको संकल्प लिनुहोस् । दिनमा दुइपटक (विहान र साँझ) भगवान शिवको प्रार्थना गर्नुहोस् । पूजाको लागि तिलको तेल र दियो जलाउनुहोस् । भगवान शिवलाई पुष्प अर्पण गर्नुहोस् । मन्त्रसहित शिवलाई सुपारी, पञ्च अमृत, नविल एवं बेलको पात चढाउनुहोस् । व्रतको समयमा श्रावण व्रत कथाको पाठ अवश्य गर्नुहोस् । पूजा समाप्त भएपछि प्रसाद बाँड्नुहोस् । सन्ध्याकालमा पूजा पश्चात व्रत खोल्नुहोस र सामान्य भोजन गर्नुहोस् ।

मन्त्र
श्रावणको समयमा ‘ओम नमः शिवाय’ जप गर्नुहोस् । श्रावणको महिना शिवजीमा समर्पित गर्नुहोस् । भनिन्छ कोही भक्त श्रावण महिनामा साँचो मन वा पूर्ण श्रद्धाको साथ महादेवको व्रत गर्दछन् उसलाई शिवको आर्शिवाद प्राप्त हुन्छ ।

विवाहित महिलाहरु आफ्नो वैवाशिक जीवनलाई सुखमय बनाउन वा अविवाहित महिलाहरु राम्रो वरको लागि श्रावणमा भगवान शिवको व्रत राख्ने गर्दछन् । ज्योतिषका अनुसार श्रावण महिनाको प्रारम्भमा सूर्य सिंह राशिमा प्रवेश गर्दछन् । सूर्यको यो गोचरले सबै १२ राशिलाई प्रभावित गर्दछ ।

साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ। काठमाडौं वरपरका क्षेत्रका श्रद्धालु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ- पशुतिनाथ क्षेत्र। पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ।

यसैगरी ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।

के हो बोलबम ?
कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।

साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ। पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ। स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights