भक्तपुरस्थित विश्व प्रसिद्ध पाँततल्ले (ङातापोल) मन्दिरको सोमबार वर्षगाँठ मनाइएको छ। यसलाई स्थानीय नेपाल भाषामा ङातापोल देयया बुँंसदा अर्थात् पाँच तल्ले मन्दिरको जन्मदिन भनिन्छ।
यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गरिएको छ। साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ। झण्डात्तोलन वर्षेनी असार शुक्ल प्रतिपदा अर्थात् जन्मदिनको दिन गरिन्छ।
मन्दिर तीन सय २१ वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाइएको हो। तीन सय २० वर्ष पूरा गरी मन्दिर तीन सय २१ वर्षमा पुगेको हो। नेपाल संवत् आठ सय २२ मा राजा भूपतिन्द्र मल्लले असार शुक्ल पक्ष प्रतिपदाका दिन पहिलो वर्षगाँठ पूजा गरिएको इतिहास रहेको छ।
वर्षगाँठको अवसरमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरकै तुछिमला टोलका अवालहरु सलंग्न रहेका थिए। उनीहरुले मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झण्डा हालेका थिए। मन्दिरको भित्रभित्र हुँदै उनीहरु मन्दिरको गजुरसम्म पुगेका थिए।
संस्कृतिविद् ओम धौभडेल ङातापोल (पाँच तल्ले) मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्। मन्दिरमा नेपाल संवत् ८२२ पौष शुक्ल नवमीमा जग राखिएको थियो। मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरुले गरेको किंवदन्ती छ। त्यही कारण प्रत्येक वर्ष तुछिमलाका टोलका अवालेहरु त्यस कार्यमा लाग्ने गरेको उनी सुनाउँछन्।
टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइएको छ। मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणले बनाइएको किंवदन्ती छ।
सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिन्छ। नेपालकै सबैभन्दा अग्लो यो मन्दिर बारम्बारको भूकम्पकाबीच पनि बाँचिरहेको छ। पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन। समय समयमा मर्मत सुधार भइरहने भएकाले मन्दिरमा क्षति हुन नपाएको विज्ञहरू बताउँछन्।
पछिल्लो पटक पनि २०७२ सालको महाभूकम्पपछि मन्दिरको जीर्णोद्धार गरिएको थियो। भक्तपुर नगरपालिकाले स्थानीय जनताको जनश्रमदान सहयोगमा मन्दिरको माथिल्ला दुई तीन तल्लाहरू जीर्णोद्धार गरेको थियो।
Discussion about this post