आमा तिमी छौं र पो अस्तित्व मेरो छ
अंश तिम्रै हु म र पो जन्म मेरो छ!
माया तिमीले दियौ र पो जिन्दगी मेरो छ
आशु तिमीले पियौ र पो हासो मेरो छ!
आमा तिमी छौं र पो संसार मेरो छ
डोहोर्याएउ संगै मलाई र पो संस्कार मेरो छ!
काँध दियौ र पो अधिकार मेरो छ
कर्म सिकायौ र पो पहिचान मेरो छ!!
मातृ देवो भवः आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो ।
शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।
आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ।
९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।
Discussion about this post