बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने

बैतडीमा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । ‘मानसखण्ड पुराणमा उल्लेख भएअनुसार’ पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो ।

नेपालका प्रथम ऐतिहासिक जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए ।

पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी (सुर्नया)को सङ्गमस्थल वडा नम्बर ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए ।

यस्तै पौराणिक सरयु (सुर्नया) नदीको किनार वडा नम्बर ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ । दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ ।

विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ ।जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए ।

पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए । यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ ।

तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट