सुनसान छ गुप्तेश्वर महादेव स्थान

मनोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी पहाडका दर्शनार्थीले विश्वास गर्ने गर्दछन् । तर, प्रचारको अभावमा गुप्तेश्वर महादेव स्थान पुग्ने दर्शनार्थीको सङ्ख्या निकै हुने गरेको छ ।

पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहनुभएको विश्वास गरिन्छ । निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने याङवरक–३ को ओयाम बजारबाट उक्त स्थानमा पुग्न सकिन्छ । गुप्तेश्वर महादेव स्थान नजिकै इङ्वाखोला जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण भइरहेका कारण सडकबाट बाह्रै महिना महादेव स्थानमा पुग्न सकिने स्थानीयवासी मचिन्द्र सेलिङले बताए ।

ओयामका ९० वर्षीय लालबहादुर न्यौपानेका अनुसार साक्षात महादेवको दर्शन गुप्तेश्वर महादेव स्थानमा आएर गर्न सकिन्छ । यहाँ गाउँघरमा रहेको जनश्रुतिअनुसार गाई वस्तुले प्रत्येक दिन बाली खाइदिने भएपछि किसानहरूले केले बाली खायो भनेर खोजी गरेका थिए ।

एक दिन लुकेर ढुक्ने क्रममा एउटा कैलो गोरुले धान खान थाल्यो । किसानहरूले गोरुलाई लखेटे । गोरु अल्लोघारी रहेको घना जङ्गलतर्फ लाग्यो । भाग्ने क्रममा गोरु ढुङ्गामाथि चढेर हिँडेपछि देख्नेहरू आश्चर्यमा परे । अहिले गुप्तेश्वर महादेव स्थान भएका ठाउँमा ‘गाईखुरे’ नामका ढुङ्गा छन् ।

गोरु हिँडेका पाइला भएका स्थानलाई नै गाईखुरे ढुङ्गा भनिएको किंवदन्ती रहेको छ । गोरु घुमेर अहिले महादेव स्थान रहेको स्थानबाट हरायो । गाउँघरका मानिसहरू भेला भएर खोज्दै जाँदा त्यहाँ महादेव स्थान रहेको पत्ता लाग्यो । गोरु छिरेको गुफाभित्र मूर्ति, देवाकृतिहरू र पानीको धारा भेटिएपछि यहाँ महादेव स्थान रहेको निष्कर्ष निकालिएको न्यौपानेको भनाइ छ ।

उक्त स्थानमा विसं १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् । सो समयमा उक्त क्षेत्रका अगुवा महासेठ बालन्द सुब्बाले मन्दिरको उत्थानमा ठूलो योगदान दिएको र मन्दिरमा धेरै घण्टहरू दान गरेको आफूहरूले पितापुर्खाबाट सुनेको वयोवृद्ध न्यौपानेको भनाइ छ ।

उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको थियो भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्थ्यो । महासेठ सुब्बाले दान गरेका ठूलठूला घण्टहरू भने हराएका छन् ।

यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको स्थानीयवासी बताउँछन् । यस स्थानका ढुङ्गा पनि अन्यत्रका भन्दा फरक छन् ।

यस स्थानमा नयाँ मन्दिर निर्माण गर्ने कुराकानी चले पनि कालिगडले पुरानो मन्दिर भत्काउन नमानेपछि पुरानै मन्दिर कायम राखिएको छ । भगवानको शक्ति रहेकै कारण यहाँ रहेका ठूलाठूला रुख लड्दा मन्दिर जोगाएर आफैँ ढल्ने गरेको वयोवृद्ध न्यौपानेको भनाइ छ ।

गुफाभित्र ढुङ्गाको दियो रहेको छ । यहाँ निरन्तर पानी झरिरहन्छ । भगवान् शिवको मूर्तिमा पानीका थोपा झर्ने गरेको देख्न सकिन्छ । गुफा डरलाग्दो रहेका कारण एक्लै जाँदा कठिन पर्ने गुप्तेश्वर महादेव स्थान संरक्षण समितिका उपाध्यक्ष सीताराम न्यौपानेको भनाइ छ ।

‘यहाँको दृश्य हेर्दा भगवान् साक्षात रहेको अनुभूत गर्न सकिन्छ,’ उनले भने, ‘तर गुफाभित्र छिरेर दर्शन गर्न एक्लैलाई भने डर लाग्छ ।’ गुफा करिब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपयले बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट