मेरो खुसीको पर्यावाची शब्द त तिमी हौ “आमा”

मातृ देवो भवः आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो ।

शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ । तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ।

आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ।

९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।

आफूले पाएका हरेक पीडालाई कठोरताका साथ सहन सक्ने भएकाले नै त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द, सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएका होलान्।

नेपोलियन बाेनापार्टले त्यसै भनेका होइनन्, मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु। नेपोलियनले असल पिता किन मागेनन् ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जाे आमाभन्दा असल हाेस् । आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।

सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ।

कसैको सफलतामा काेही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन्। आमा सिर्फ आमा मात्र हुँदिनन्, एक सन्तानको लागि पहिलो पुस्तक पनि हुन् । आमा नै पहिलो गुरु हुन्, आमा नै पहिलो साथी हुन्, आमा नै पहिलो सल्लाहकार हुन्, आमा नै हरेक पीडाको सारथी हुन् ।

आमा पहिलो औषधि हुन्। अँध्यारोको दीप पनि आमा नै हुन् । सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यो अद्भुत प्राणीको नाम आमा हो। सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पाेल्छ ती आमा नै हुन् ।

एकजना व्यक्तिले स्वामी विवेकानन्दलाई सोध्छन्, स्वामी कुन कारणले आमाको यति धेरै महिमा गाइन्छ ? यति धेरै वर्णन गरिन्छ?तब स्वामीले त्यो प्रश्नकर्तालाई भन्छन्, तिमी बाहिर जाउ र दुई/तीन किलो वजनको ढुङ्गा ल्याएर आउ । व्यक्ति ढुङ्गा लिन जान्छ र लतरपतर गरेर ल्याएर पनि आउFछ र स्वामीलाई ल्याएको जनाउ दिन्छ।

स्वामीले त्यो ढुङ्गालाई एउटा कपडामा पोको बाधेर सर्तसहित त्यो प्रश्नकर्ताको कम्मरमा बाध्न लाउँछन् र भन्छन्, यो ढुङ्गाको पोको तिमीले २४ घण्टासम्म खोल्न पाउने छैनौँ र २४ घण्टा पछि भेट्न आउनु अनि तिम्रो प्रश्नको जवाफ म त्यतिबेलै दिनेछु। स्वामीको सर्त सहर्ष स्विकार्दै प्रश्नकर्ता त्यहाँबाट निस्कन्छ र काममा मग्न हुन्छ। काम गर्दै गर्दा त्यो मान्छेलाई साह्रै अप्ठेरो पर्छ।

सानो तिनो काम गर्दा पनि उसलाई साह्रै पीडा महसुस हुन्छ। कम्मरमा बाँधेको त्यो ढुङ्गाको भारीले धेरै चोट दिन थालेपछि प्रश्नकर्ता २४ घण्टा नबित्दै हतारहतार स्वामी कहाँ जान्छ र आफूले त्यो ढुङ्गाको भारी अब धेरै बेरसम्म थेग्न नसक्ने बताउँछ।

तब स्वामीले भन्छन्, तिमीले यो जाबो ढुङ्गालाई २४ घण्टा त पेटमा बाँधेर राख्न सक्दैनौ भने, एउटीआमाले आफ्नो बच्चालाई ९ महिनासम्म कसरी पेटमा राखेर बस्न सक्छिन् होला ? एकातिर गर्भमा बच्चा, अर्कोतिर घर पनि उनैले हेर्छिन्।

सारा काम उनैले हेर्छिन्। त्यो कसरी सम्भव हुन्छ ? संसारका हरेक दुःख, कष्ट झेलेर पनि आफ्ना सन्तानका लागि लडिरहने क्षमता केवल आमामा मात्र हुन्छ। आमा महान् छिन्। त्यसैले आमाको सर्वत्र चर्चा गरिन्छ। स्वामीजी को जवाफ सुनेर प्रश्नकर्ता नतमस्तक बन्छ।

जब एउटा ५ वर्षको बालक आमाको छेवैमा जान्छ र भन्छ, आमा। तब आमाले बुझ्छिन्, सन्तानलाई चकलेट चाहियो। आमाले बगलिबाट सिक्का झिक्छिन्। जब छोरो १६ वर्षको हुन्छ, तब सन्तान छेवैमा गएर आमालाई म्वाई खान्छ र आमा भन्छ, तब आमा भन्छिन्- ल भन् कति पैसा चाहियो? जब छोरो २५ वर्षको पुग्छ अनि आमाको छेवैमा गएर भुइँमा हेरर आमा भन्छ, तब आमाले भन्छिन्ल- केटी ठीक छ नि ! म कुरा गर्छु।

आमा हुन्, त्यसैले आफ्नो सन्तानको बारेमा हरेको कुराको अवगत राख्दछिन्। आफ्नो सन्तानको बारेमा हरेक कुराको जानकारी राख्ने र आफ्ना सन्तानलाई के मन पर्छ, के पर्दैन, कस्तो खाने कुरा खान मन मान्दछ, सबै आमाले रिसर्च गर्छिन्। यसरी हेर्दा त आमा संसारकै पहिलो पीएचडी स्कलर हुन्।

जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ। आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन् तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ। सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ। त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस्, बरु मलाई नै हरोस् तर मेरो सन्तानलाई केही नहोस्।

आफ्ना सन्तानप्रतिको अपार माया देख्दा यस्तो लाग्छ, मिल्थ्यो भने आमाले यतिसम्म गर्थिन्, कालसँग सन्तानको सट्टा आफैँ जान्थिन्। आमाले आफ्ना सन्तानलाई गर्ने माया र स्नेहलाई लेखेर या कुनै शब्दकाे माध्यमबाट व्यक्त गरेर खुलाउन सकिँदैन। आमाको माया आफ्ना सन्तानप्रति अनुत्तरित हो, विशाल हो। आमाले गर्ने मायाभन्दा ब्रह्माण्डको आकार पनि सुक्ष्म हो।

सायद आमाले दिएको यही स्नेहले गर्दा होला, कतै चोट पर्दा पनि आमा नै उच्चारण आउँछ। खुट्टामा काँडाले घोच्दा होस् या कुनै पीडामा हुँदा होस् एक सन्तानले आमाकै नाम जप्छ ।

त्यसैले आमा एक आमा मात्र होइनन्, ईश्वरीय रुप हुन्। एक लेखकले त्यसैले क्या खुब सुन्दर भने, भगवान चारैतिर आउन सक्दैनन्, त्यसैले भगवानले आमा पठाए। भगवान खोज्न मन्दिर जानु पर्दैन। आमाको चरण ढोगे पुग्छ। धर्म गर्न कुनै दान गर्न पर्दैन, आमालाई खुसी राखे पुग्छ।

चार धाम, सबै ताीर्थ आमामै गएर समाहित भएका छन। तेत्तीसकोटी देवताको सारा शक्ति आमाकै आशिर्वादबाट प्राप्त हुन्छ। हामीले पुज्ने नवदुर्गा भवानी नै आमाको रूप हो। आमाको चरण स्पर्शबाटै स्वर्गको द्वार खुल्दछ। आमालाई गरिने सम्मान, माया नै हरेक संकटको मोचन हो। आमाको आशिर्वाद छ भने सब थोक छ।

यति हुँदा हुँदै आमाको आँखामा आँसु छ भने जिन्दगी भयावहपूर्ण छ। कुनै सन्तानले आफ्नो कारणले आँसु दिलायो भने त्यो सन्तानले रगतको आँसुको सामना गर्नुपर्दछ। ९ महिना बोकेको भारीको अक्षम्य पाप लाग्दछ। दश धारा दूधको श्राप लाग्दछ। आमालाई पीडा र दुःखमा होम्ने सन्तानले परलोकमा पाइला टेक्न समेत ठाउँ पाउँदैन।

जसले हामीलाई यो धर्तीमा ल्यायो आज हामी उनैलाई भुलिरहेका छाैँ । आफू भोकै बसेर भोक छैन भनेको सायद सन्तानले बिर्से होलान्। त्यो बेला आमाको काख जस्तो स्वर्गीय आनन्द कतै लाग्दैन थियाे । आज त्यो काख बिझाउने सिस्नोजस्तै बनेकाे छ । बाल्यकालमा त्यही आवाज मधुर लाग्थ्यो, आज बूढेसकालमा त्यहि आवाज कर्कस लाग्न थालेछ।

आफ्नो सन्तानको हासो र खुसीमा मात्र सुख देख्न पाउने आमा आज त्यही खुसी देख्न पनि पाउँदिनन्। बाल्यकालमा सन्तानलाई काँडाले छुँदा आमाको दिलमा घाउ बस्थ्यो। तर आज सन्तानका वचनले आमाको दिलमा घाउ बनाएका छन्। हिजो सन्तानका लागि दुःखको पहाड बनाएकी आमा आज सन्तानका लागि बोझ बनिरहेकी छन् ।

बाल्यकालमा आमाले आफ्ना सन्तानलाई केही नहोस् भनेर रेखदेखमा २४ सै घण्टा स्याहार्थिन्। तर आज आमाका लागि सन्तानलाई १ घण्टा निकाल्न पनि हम्मेहम्मे पर्छ।

सन्तानलाई नै आफ्नो सर्वस्व संसार ठानेर बसेकी आमाको सन्तानमा पखेटा पलाउने बित्तिकै संसार नै उजाड लाग्दछ। आखिर किन? यो प्रश्न हामी सबैले खोज्न आवश्वक छ।

हामीलाई जिन्दगी दिने आमालाई बूढेसकालमा माया दिन सकेनौँ भने, हामी बाच्नुको औचित्य पनि रहँदैन। आमालाई देखेपछि यस्तो लागोस् कि जसले हामीलाई हाम्रो जीवन दिइन्, एक दिन यो जीवन उनैको नाममा अर्पण गर्न पाइयोस्। यो सौभाग्य एक दम कम भाग्यमानीले मात्र पाउँछन्।

आफ्ना सन्तानका निम्ती आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्तिकारकाे सलाम छ। आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रम्हनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights