खुल्ला ठाउँमा गनिन्छ मन्दिरको भेटी

मन्दिरमा ठूला पर्वको साँझसम्म भेटी संकलन गरी प्रहरीकै उपस्थितीमा मुचुल्का गरिन्छ । रातभरी सुरक्षामा भेटी र चावी कोषमा राखिन्छ। भोलीपल्ट विहान सरोकारावाला निकायको उपस्थितिमा प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारीले हस्ताक्षर गरेलगत्तै भेटी फिजारिन्छ, सबैले बसेर खनखनी पैसा गन्ने गर्दछन्।

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा सधै यस्तै हुने गरेको छ। देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको अवस्थामा गलेश्वर मन्दिरमा विगत एकदशक यता मन्दिर परिसर भित्र सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्ने गरी भेटी गन्ने गरिन्छ। महाशिवरात्रीको भोलीपल्ट अर्थात आइतबार पनि यस्तै दृष्य मन्दिरमा देखिएको थियो।

मन्दिरको भेटी सदुपयोगमा स्थानीयबासीले समेत सघाइरहेका छन् । विहानै सातबजेदेखि करिव १२ बजेसम्म लगातार भेटी गन्ने गरिन्छ। भेटी सार्वजनिको बेलामा आवश्यकता अनुसार सामाजिक सञ्जालको प्रयोग तथा सञ्चारमाध्यमलाई समेत जानकारी दिने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए। ‘भेटी सदुपयोग हुदाँ पूर्वाधार विस्तारमा धेरै सहज भएको छ,‘भेटी गन्ने क्रममा मन्दिरमा आएका भक्तजनहरुलाई समेत गन्न दिने ब्यवस्था मिलाइएको छ’ अध्यक्ष रेग्मीले भने।

शनिबार महाशिवरात्रीमा दर्शन गर्न आएका दशर्नाथीहरुले चढाएको भेटी गन्न आइतबार विहान ७ बजेदेखि १० बजेसम्म लागेको थियो। करिब २० देखि ३० जनाको उपस्थितिमा भेटी गनिएको थियो। कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा भेटी गन्न थालिएपछि भेटीको दुरुपयोग रोकिनुका साथै पूर्वाधार विस्तारमा समेत भेटीले ठूलो भूमिका खेलेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए। महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार ३७ रुपैयाँ संकलन भएको थियो।

भगवानलाई चढाइएको भेटीको दुरुपयोग पनि एक किसिमले अपराध नै भएकाले भक्तजनहरुले समेत गन्न लागेको स्थानमा सहभागी भएर धन्यवाद दिने गरेका छन्। साउने सोमबार, बालाचर्तुदर्शी, शिवरात्री र साउने सोमबारको हरेक हप्ताको मंगलबार भेटी सार्वजनिक गर्ने गरिन्छ भने अन्य महिनामा प्रत्येक १५ दिनमा सार्वजनिक गर्ने गरिएको छ। विहानदेखि बेलुकीसम्म भक्तजनले दर्शन गरेपछि प्रहरी, स्थानीयबासीको सक्रियतामा भेटी संकलन गर्ने गरिन्छ । भेटी गन्न स्थानीयबासीले समेत आफ्नो समय छोडेर सहयोग गर्ने गरेको गलेश्वर आमा समुहकी निर्वतमान अध्यक्ष गौमायाँ मगरले बताए।

भेटीको सदुपयोग हुन थालेपछि भक्तजनको चापसँगै करोडौको पूर्वाधारका साथै भक्तजनलाई निशुल्क भोजन सहितका सुविधाहरु समेत थपिएको छ । ०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो। मन्दिर स्थापना देखी ०६७ सालसम्म मुल मन्दिरमा भक्तजनले चढाएको सुन देखी नगदसम्म पुजारीको पहुँच,जलबराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपासका क्षेत्रमा रहेका शालग्राम सहित हिन्दु धर्मालम्बीले पुजाआजा गर्न ठाउँमा चढाइएको भेटीमा बाहिरी मान्छेले समेत चढाएकै ठाउँबाट दुरुपयोग गर्ने गरेका थिए।

०६७ सालमा स्वर्गीय रुद्ध बहादुर कार्कीको अध्यक्षतामा नयाँ समितिले मन्दिरको भेटीलाई ब्यवस्थित बनाउने गरी सार्वजनिक स्थानमै गन्न सुरु गरिएको हो। अहिले धेरै भेटी संकलन हुने ठाउँमा सिसी क्यामेरा जडान सहित निगरानी, पुजारीलाई तलव सहित खाना बस्ने ब्यवस्था गरिएपछि भेटी ह्वात्तै बढेको छ।

भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ। धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएको छ।

भेटीबाटै गलेश्वर बजारमा समेत सडक बत्ती जडान गरिएको छ । हाल विभिन्न बैंक तथा वित्तिय संस्थामा ३ करोड २६ लाख बचत समेत रहेको छ। कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights