अत्यन्तै दुर्लभ संयोगमा मनाइनेछ यो वर्षको महाशिवरात्रि, यी ८ राशिका लागि छ अत्यन्तै शुभ

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको शिवरात्रिको दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।

फाल्गुन ६ गते शनिबारको दिन परेको यसपटकको महाशिवरात्रिमा वर्षौँपछि दुर्लभ संयोग बन्दैछ। यस वर्ष महाशिवरात्रिको दिन शनि प्रदोष व्रत पनि छ। शनि प्रदोष व्रत पुत्र प्राप्तिको लागि बसिन्छ। साथै यस दिन शंख योग र सर्वार्थ सिद्धि योगको संयोग बन्दैछ। यी शुभ योगहरुमा गरिएको पूजापाठ र कार्यले धेरै गुणा बढी फल दिन्छ।

ज्योतिषीहरुका अनुसार यसपटक महाशिवरात्रिमा शनिदेव आफ्नो मूल त्रिकोण राशि कुम्भमा विराजमान हुनेछन्। यससँगै सूर्यदेव आफ्नो पुत्र एवं शत्रु शनिको राशि कुम्भमा चन्द्रमासँग विराजमान रहनेछ। ग्रहहरुको यो स्थितिले त्रिग्रही योग बनाउँछ।

ग्रहहरूको यो दुर्लभ स्थिति विशेष लाभदायक हुनेछ। यस अवधिमा शनिदेव आफ्नो प्रिय राशि कुम्भमा अस्ताउँदा करियर र आर्थिक दृष्टिकोणले यो स्थिति निकै राम्रो रहनेछ। यस्तो अवस्थामा महाशिवरात्रिको व्रत राखेर भगवान शिवको पूजा गर्नाले शनिको सबै दोष हटेर सबै मनोकामना पूरा हुनेछन्।

यस वर्ष महाशिवरात्रिको दिन बृहस्पति आफ्नो प्रिय मीनमा र शुक्र आफ्नो उच्च राशि मीनमा विराजमान हुने भएकोले मिथुन, कन्या, धनु र मीन राशिहरुका लागि हँस योग र मालव्य योग बन्नेछ। जसलाई अत्यन्तै शुभ मानिन्छ।

त्यस्तै वृष, सिंह, वृश्चिक र कुम्भ राशिका लागि शश योग बन्नेछ। यो अवस्थालाई जागिर र व्यापारको दृष्टिकोणले पनि निकै शुभ मानिन्छ। बाँकी रहेका मेष, कर्कट, तुला र मकर राशिहरुका लागि पनि सामान्य फलदायी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट