विवाहपूर्व प्रेमीप्रेमीका मनकामना जाँदा प्रेम छुट्छ ?

काठमाडौं । विवाहपूर्व प्रेमीप्रेमिका किन जाँदैनन् देवी मन्दिर ? धेरैमा एउटा विश्वास छ कि विवाहपूर्व देवीको मन्दिरमा जाँदा प्रेम छुट्छ । त्यही मान्यताले कतिपय देवीको मन्दिरमा प्रेमीप्रेमिकाहरु जान डराउँछन् ।

यो मान्यता झन् मनकामना मन्दिरमा झनै व्याप्त छ । विवाह गर्नुअघि मनकामना मन्दिरमा जाने जोडीहरुको प्रेम असफल हुन्छ भन्ने मान्यताले विवाहपूर्व प्रेमीप्रेमिकाको जोडी मनकामना जान डराउने गर्छन् । तर यो केवल विश्वास मात्रै रहेको र यसमा कुनै मिथकीय प्रमाण समेत नरहेको जानकारहरु बताउँछन्।

पुजारी इन्सान थापा मगर पनि मनकामना आउँदा प्रेम छुट्छ भन्ने मान्यता केवल विश्वास भएपनि यसको कतै लिखित र मिथकीय प्रमाण नरहेको बताउँछन् । कुनै शास्त्र वा इतिहासमा यसको विषय उल्लेख नरहेकोले प्रेम जोडी मनकामना आउन डराउनु नपर्ने उनको भनाइ छ ।

गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्वपूर्ण शक्तिपीठ मानिन्छ । वार्षिक रुपमा करिव ११÷१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् ।

विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने गर्दछ । यहाँ प्रत्येक अष्टमीका दिन बली चढाइन्छ ।

राम शाहकी रानी लिलावती स्वयं मनकामना माईको अवतार थिइन् भन्ने जनविश्वास रहेको छ । सिद्ध लखन थापा मगर गोरखा दरवारमा रानी लिलावतीको सेवक थिए । राजा राम शाहको मृत्यु भएपछि सतगती गर्न मस्र्याङ्दी नदी र दरौँदीको दोभान बेनी (रामशाहघाट) भन्ने ठाउँमा राजाको चिता बनाइयो ।

रानी सती जान तयार भईन् । यो देखेर भक्त लखन थापा मगर शोकले विह्वल भएर विलाप गर्दा रानीले लखन थापालाई सम्झाउँदै – ‘म फेरि पनि तिमीलाई मेरो सेवा गर्ने मौका दिनेछु । तिमी आफ्नो गाउँ कफ्याकमा फर्क ।

म त्यही ठाउँमा शिलाको रुपमा उत्पत्ति भई भक्तजनहरुको मनोकामना पूरा गरिदिनेछु ।’ भनी सती गइन् । धार्मिक कथन अनुसार त्यसको ६ महिनापछि हाल मनकामना भगवतीको मन्दिर रहेको ठाउँमा स्थानीय धनध्वज गुरुङले गोरु जोत्दा हलो अड्की एउटा शिलाबाट दूध र रगत बग्न थालेछ । दिव्यदृष्टि भएका सिद्ध लखन थापाले तान्त्रिक विधिद्वारा पूजापाठ गरेपछि रगत वग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरिएको बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट