- अर्जुन दाहाल
भनिन्छ नेपाली समाजमा
मलामीको भीड हेरी मानिसको औकातको अड्कल लगाइन्छ
त्यो पनि मानिसको मृत्यु पश्चात
जीवित छँदा औकातलाई त्यती चासो दिईदैन ।
उसले पनि मलामीको भीड हेर्यो,
आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा ।
बच्चै देखि चकचके उ
आफ्नो परिवारमा काकी बित्दा
अरु परिवारको सदस्य रोएको देखि
आँखा बाट आँशु खसाल्न नसकी
थुक आँखामा लगाई
रोए जस्तो गर्यो,
त्यस्तो चकचके थियो उ
त्यतिबेला उसले मलामीको हुल देख्ने अवसर पाएन ।
पछि उसको हजुरबुबा बित्दा
उसले मलामीको भीड हेर्यो
त्यही पनि उ रोएन
गाउँ समाज बाट को आयो र को आएनन्
सबै हेर्यो ।
फेरि उसको आमा बित्नु भयो
उसले एक थोपा आँशु खसालेन
पुन: मलामीमा गाँउ समाज बाट
को आयो, को आएन हेर्यो
सबै मलामीलाई हेर्यो ।
आँशु नखसाएको उसले
त्यो दिन गतिलो पाठ सिक्यो
किन मानिस मर्दा
ईश्वरसँग दुःख सहन सक्ने शक्ति प्रदान गर्दछन भनी
अनि त्यही दुःख सहन शक्ति प्रदान गर्न
भीड हुने रहेछ
मलामीको।
शास्त्रले मलामीलाई जे शब्दले व्याख्या गरे पनि,
मलामीको जानु सामाजिक परम्परा मात्र रहेछ,
किनकि मृत्यु सबैको घरमा
एक न एक दिन अवश्य आउँछ
महादेवले शिवभट्ट ब्राह्मण हुँदा देह त्याग गर्नु परेको थियो,
विष्णुले राम र कृष्ण हुँदा देह त्याग गर्नु परेको थियो
प्रकृतिको नियम नै हो मृत्यु
त्यसैले उसले मलामी मात्र हेरेन
१३ दिनको काम सम्ममा को आए, को आएनन हेरिरह्यो
तर उसलाई मतलब थिएन
किनकि कर्ममा व्यस्तता सबैलाई हुन्छ ।
उसको परिवारमा भक्तिको कमी थिएन,
एक पल्ट एकाह पुराण लगाए
दुई पल्ट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाए
एक पल्ट लघु रुद्री लगाए,
त्यति कर्म गर्ने मानिस विरलै होलान
उसलाई कर्मको फल दिन्छु भन्नेले
कर्म र ज्ञान दिन सकेनन
उसको कर्मको फल लिन्छु भन्नेले
जिम्मेवारी लिन सकेनन
त्यसैले कमै रोएको व्यक्ति उ
सदा हाँस्दै र हासाउँदै बस्ने व्यक्ति उ
उसलाई ईश्वरले एक दिन भने
“बालक तलाई मैले रुवाएर पनि केही पाइन”
उसले अनि ईश्वरलाई भन्यो
“मलामी को हुन त देख्नुभयो
समवेदना प्रकट गर्न त स्कुलमा सिकाइन्छ
पाठ्यक्रम अनुसार नै
जीवितको शक्ति र बाँच्ने आधार
अनि मृतकको घाट सम्मको साथी हुन मलामी
तपाईं सँग प्रार्थना गर्ने व्यक्ति हुन मलामी।”
ईश्वरले अन्तर्ध्यान भए ।
Discussion about this post