नेपाल विश्वमै धेरै इसाई समुदाय बढ्दै गएको देश

नेपाल विश्वमै धेरै इसाई समुदाय बढ्दै गएको देश हो। नेपालमा मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न समेत इच्छुक छन्।

“येशुको जीत होस्,” हिमालको फेदमा रहेको झार्लाङ्ग गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एकजना कोरियाली पास्टर पाङ्ग चाङ्ग-इन्‌ले भावविभोर भएर आँसु खसाले।

हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे। त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दाअघिदेखि रहेको ठानिन्छ।

पाङ्गको नजरमा तामाङ समुदाय “आर्थिक र आध्यात्मिक रूपमा गरिब” छ। “त्यसैले, एउटा चमत्कार हुन्छ र पूरै गाउँले धर्म परिवर्तन गर्छ,” उनले भने।

धर्म प्रचारक मिसनरीहरू, धेरैजसो पाङजस्तै दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्।

पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ।

इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दशक लामो समयमा पाङ्गले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेका छन्। त्यसरी बनेका धेरैजसो चर्चहरू राजधानी काठमाण्डूबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन्।

उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चहरूले निर्माण कार्यका लागि पैसा दिएर मद्दत गर्छन्। पाङ्ग दाबी गर्छन्, “झन्डै सबैजसो पहाडी उपत्यकाहरूमा चर्चहरू बनिरहेका छन्।”

त्यो केही बढाइचढाइ गरेर गरिएको दाबी हुनसक्छ तर हालैका वर्षहरूमा नेपालभरि चर्चहरूको सङ्ख्यामा ठूलो वृद्धि भएकोमा कुनै शङ्का छैन। इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ।

र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ। केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ।

कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन्। धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने उत्साहबाट प्रेरित कोरियाली धर्म प्रचारक, मिसनरी, हरू धर्म परिवर्तनका निम्ति निकै गाह्रो ठानिँदै आएका संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ।

नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ। यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ।

“धर्म परिवर्तन गराउने विरुद्धको कानुनका कारण हामी सधैँ चिन्ता र त्रासमा काम गरिरहेका हुन्छौँ ,” पाङ्गकी श्रीमती ली जियोङ्ग-हीले भनिन्। “तर यो डरका कारण हामी इसाई धर्मको उपदेश फैलाउन रोक्न सक्दैनौँ। हामी आत्माहरूको उद्धार गर्ने कार्यलाई रोक्ने छैनौँ।”

यी दम्पती पहिला ब्याङ्कमा काम गर्थे। ” पहिले मेरा श्रीमान्‌ले नै ईश्वरको आदेश प्राप्त गर्नु भएको हो र त्यसको छोटो समयपछि ईश्वरले हामीलाई नेपालतर्फ जाने बाटोमा पठाइदिनुभयो,” ली जियोङ्ग-हीले भनिन्।

उनीहरू सन् २००३मा पहिलो पटक नेपाल आउँदा नेपालमा हिन्दू शाही परिवार गद्दीनसीन नै थियो। “यहाँ थुप्रै मूर्तिहरूको पूजा भइरहेको देखेर स्तब्ध भएको थिएँ,” पाङ्ग भन्छन्। “मलाई लाग्यो नेपालमा येशुको उपदेशको एकदमै चर्को आवश्यकता छ।”

उनीहरू आएको पाँच वर्षपछि नेपालमा २४० वर्ष पुरानो राजतन्त्र ढल्यो। एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै माओवादी विद्रोहीहरूले हतियार बिसाए र उनीहरू सरकारमा आए।

त्यसको केही अघि मात्रै नेपालको संसद्‌ले देशलाई धर्म निरपेक्ष घोषणा गरिसकेको थियो। “यसले मिसनरी कामका लागि स्वर्ण युगको थालनी गर्‍यो,” पाङ्ग भन्छन्। नेपालमा अहिले रहेका करिब ३०० कोरियाली धर्म प्रचारक परिवारमध्ये उनी र उनकी श्रीमती पनि हुन्।

काठमाण्डू उपत्यकामा रहेको कोरियाली इसाई समुदाय मुख्यत: ललितपुरको भैँसेपाटीस्थित कोरियाली चर्च वरपर छरिएर रहेको छ।त्यसो कुनै पनि धार्मिक समूह औपचारिक रूपमा इसाई धर्म प्रचारक भएर नेपाल बसिरहेका होइनन्।

उनीहरूसँग या त व्यवसायीको रूपमा वा विद्यार्थीको रूपमा यहाँ बसोबास गर्ने राहदानी छ। केहीले रेस्टुरेन्ट चलाउँछन् भने केहीका दर्ता भएका परोपकारी संस्था छन्।

हामीले केही हप्ता कोरियाली प्रचारक समुदायसँग समय बितायौँ। त्यस क्रममा हामीसँग खुला रूपमा बोल्न इच्छा देखाउने पाङ्ग र उनकी पत्नी मात्रै थिए। “परमेश्वरले नेपालमा के गरिरहेका छन् भन्ने कुरा अरूलाई सुनाउन म खुला छु,” पाङ्गले भने।

आफूहरूको कामले कानुनको उल्लङ्घन गरेको भन्ने उनलाई लाग्दैन किनभने उनको मनमा उनीहरूले खुला रूपमा धर्म परिवर्तन गराएको वा बाप्टाइज गराएको भन्ने लाग्दैन।

“हामीले गरिरहेको धर्म प्रचारको काम केवल हामीबारे मात्रै होइन। परमेश्वरले यो काम गरिरहेका छन्। नेपालमा चमत्कारहरू गर्न कसरी परमेश्वरले हाम्रो माध्यमबाट काम गर्छन् भनेर हामीलाई देखाउन मन छ,” उनले भने।

नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ। सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन्।

सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो। तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ।

कमल थापा धर्म परिवर्तन गराउनेविरुद्धको कानुन कार्यान्वयन होस् र नेपाल फेरि हिन्दू राज्य होस् भन्ने चाहन्छन् “यो जङ्गलमा डढेलो जसरी फैलिरहेको छ। हाम्रो सांस्कृतिक पहिचान धरापमा परेको छ। राष्ट्रिय एकताको सूत्र दाउमा छ,” नेपालका एकजना पूर्व उपप्रधानमन्त्री कमल थापाले दाबी गरेका छन्।

उनी कोरियाली धर्म प्रचारको कामलाई “देशको सांस्कृतिक पहिचानमाथिको सङ्गठित हमला” को रूपमा हेर्छन्। “मिसनरीहरूले पर्दापछाडि बसेर काम गरिरहेका छन् र गरिब र सिधासादा मानिसहरूलाई शोषण गरिरहेका छन् अनि इसाई धर्ममा परिवर्तित हुन प्रोत्साहन गरिरहेका छन्। यो धार्मिक स्वतन्त्रताको अवस्था होइन। यो धर्मको नाममा गरिएको शोषण हो,” उनले भने।

उनले नेपाल पुनः हिन्दू राष्ट्र हुनुपर्ने वकालत गर्दै आएका छन्। उनले धर्म परिवर्तन विरोधी कानुनको पनि समर्थन गरेका थिए र उनी उक्त कानुन कार्यान्वयनमा भएको हेर्न चाहन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights